नेपाल पक्षले सोध्यो ओलीपक्ष सासंदसँग स्पष्टीकरण, जवाफ नदिए पदमुक्त गर्ने चेतावनी


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
4.6K
SHARES

२५ जेठ काठमाडौ । आज नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। प्रदेश संसदीय दलको निर्णय उल्लंघन गरेको आरोपमा नेपाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दलले मुख्यमन्त्री भट्टको विपक्षमा मत दिने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ सांसदलाई स्पष्टीकरण सोधेको हो।

ओली पक्षका सांसद पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा, नेपालु चौधरी, रतन बहादुर थापा, माया तामाङ बोहरा र बलदेव रेग्मीलाई दलका नेता प्रकाश बहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले सुदूरपश्चिमका प्रमुख सचेतक दुर्गा बिकले बताइन्।

‘दलको ह्विप किन उल्लङघन किन गरेको भनेर स्पष्टीकरण सोधिएको छ।’ उनले भनिन्, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही हुन्छ।’ नेपाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दलले मुख्यमन्त्री भट्टका पक्षमा मतदान गर्न निर्देशन जारी गरेको थियो। सभामुख सहित २५ सांसद रहेको नेकपा एमालेको नेपाल समूहमा १७ र ओली समूहमा ७ जना सांसद छन्।

मुख्यमन्त्री भट्टले मंगलबार प्रदेश सभामा विश्वास मत पाउँ भनी पेश गरेको प्रस्तावको विपक्षमा एमालेको ओली समूहका ७ सांसदले मतदान गरेका थिए। मुख्यमन्त्री भट्टलाई नेपाल समूहका १७ सांसदले मत दिएर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाएका थिए।

यस्तै एमाले केन्द्र र सुदूरपश्चिम प्रदेश कमिटी मुख्यमन्त्रीको विपक्षमा मत दिन निर्देशन जारी गरेको थियो। एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको निर्देशन उल्लंघन गर्ने नेपाल समूहका १७ सांसदलाई कारबाही गरिने बताए।