एमाले पार्टी त्याग र बलिदानबाट बनेको हो , अनुहार हेरेर होइन – नेता विष्ट
२६ जेठ काठमाडौं। आज नेकपा एमाले नेता गोकर्ण विष्टले कुनै अमुक नेताको अनुहार हेरेर पार्टी निर्माण नभएको बताएका छन्। नेता विष्टले लाखौं कार्यकर्ताहरूको त्याग, बलिदान, जनताको समर्थन र सहयोगले एमालेको सङ्गठन निर्माण भएको बताए।
‘यो पार्टी कुनै एउटा व्यक्तिले मात्र निर्माण गरेको होइन। लाखौं कार्यकर्ताहरूको त्याग, बलिदानी, लाखौं जनताको समर्थन र सहयोगले यो पार्टी यहाँ सम्म आएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यदि कसैलाई आफ्नो कारणले मात्र संगठन निर्माण भएको लागेको भए त्यो बुझाइ गलत भएको नेता विष्टको भनाई छ।
‘केही सीमित नेताहरूलाई यस्तो लागेको होला कि हामी जुन ढंगले पर्दामा देखिएका छौं, हाम्रो अनुहार हेरेर लाखौं कार्यकर्ताहरू र जनता पछि लागिरहेका छन्।
यस्तो कमरेड केपी ओली, कमरेड माधव नेपाल र कमरेड झलनाथ खनाललाई पनि लागेको होला। वा अरू कसैलाई पनि लागेको होला। त्यस्तो भ्रम थोरै थोरै मात्रामा हामीलाई पनि पर्न सक्छ। फेरि पनि त्यो बुझाई गलत हुनेछ,’ उनले भनेका छन्।