आज सेयर बजारमा नेप्से १६१ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
10.4K
SHARES

२१ भदौ काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १६१.६४ अंकले वृद्धि हुँदा २९८०.७९ अंकमा बन्द भएको छ । पछिल्ला केही दिनयता लगातार घटेको सेयर बजारमा आइतबार उच्च उताचढावबीच १०८ अंकको गिरावट  भएको थियो ।

पछिल्लो ९ कारोबार दिनमा ३८० अंकभन्दा बढीको गिरावट भएको बजारमा आज एकै दिन १६१ अंकको बाउन्स ब्याक भएको छ । सेयर बजारमा गिरावट सँगै लगानीकर्ताको एक समूहले गभर्नरको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि गभर्नरलाई फोन गरेर सेयर बजारको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

जसको प्रभावस्वरुप नेप्सेमा एकै दिन उच्च अंकको बाउन्स ब्याक भएको छ । आज नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाएको छ । विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक ९ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ४.०७ प्रसितशतले बढेको छ ।

बजारमा बाउन्स ब्याक भए पनि कारोबार रकम भने आइतबारको तुलनामा घटको छ । आइतबार ११ अर्बको कारोबार भएको बजारमा आज १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड २२ लाख २२ हजारको कारोबार भएको छ ।

कारोबार रकममा अरुण भ्याली हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको ४६ करोड ३० लाख ९१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको करिब २७ करोड, अपर तामाकोशीको करिब २५ करोड नेशनल हाइड्रोपावर र आईसीएफसी फाइनान्सको करिब २० करोडको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा १८५ कम्पनीकै सेयरमूल्य बढेको छ । जसमध्ये  पनि ५ दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।