एमसीसीको माओवादीले विरोध गर्नुको तुक छैन – प्रधानमन्त्री देउवा
२२ भदौ काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले एमसीसी परियोजना जबरजस्ती नेपालमा लाद्न खोजेको भन्ने भ्रामक टिप्पणी भइरहको बताएका छन् ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बाबुराम भट्टराईको सरकारबाट सुरु भएको परियोजना नेपालले मागेर मात्र अमेरिकाले दिएको बताए ।
“हामीले मागेर परियोजना आएको हो, अमेरिकाले जबरजस्ती दिएको भन्ने भ्रामक कुरा चिर्नुपर्छ,” देउवाले भने । उनले अमेरिकी सहयोग परियोजना एमसीसीबारेका भ्रम जनताबाट हटाउन आवश्यक रहेको बताए । बैठकमा सहभागी एक सांसदकाअनुसार देउवाले अहिले माओवादीले एमसीसी परियोजनाको विरोध गर्नुको तुक नभएको धारणा राखेका थिए ।
रसिया र चीनको बिचमा रहेको राष्ट्र मंगोलिया र इन्डोनेसियाले दोस्रोपटक परियोजना लिएको भन्दै देउवाले सैनिक रणनीतिको हिस्सा एमसीसी नभएको बताएका थिए ।
यो विशुद्ध विकास परियोजना हो, हामीले जनतालाई बुझाउनुपर्छ,” बैठकमा देउवाले भनेका थिए, “सैनिक रणनीति भएको भए शक्ति राष्ट्रहरूकोबिचमा भएका साना देशहरूले दुई दुईपटक किन परियोजना लिन्थे होला र !”
उनले आफ्नो सरकारले ११ बुँदामा परियोजनाबारे अमेरिकालाई सोधेको र त्यसको चित्तबुझ्दो जवाफ आएपछि मात्र संसद्मा टेबल गरिने प्रतिबद्धता व्यक्त गरेको एक सांसदले बाह्रखरीलाई जानकारी दिए ।
बैठकमा बोल्दै सांसद गगन थापाले सरकार अलोकतान्त्रिक मार्गमा हिँड्न खोजेको भन्दै प्रश्न उठाएका थिए ।
“सरकार अलोकतान्त्रिक भयो, अभिव्यक्ति स्वतन्त्रता खोस्यो भनेर हिजो हामी प्रतिपक्षमा बस्दा प्रश्न उठायौँ, विरोध ग¥यौँ,” थापाले भनेका थिए, “आज हामी त्यही कदम चाल्दैछौँ जुन् हाम्रा लागि ब्याक फायर हुन्छ ।” तीन तहको चुनाव नजिकिएको बेलामा सरकार संवेदनशील हुनुपर्ने थापाको जोड थियो ।
बुधबार संसद् बैठकमा दल विभाजन सहज गर्न संशोधनसहित ल्याइएको अध्यादेश प्रस्तुत गरिने भएको छ । यस्तै, केपी ओली नेतृत्वको सरकराले अध्यादेशबाट ल्याएको बजेट पास गराउने तयारी सरकारले गरेको छ ।