कांग्रेस महाधिवेशन : नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरू
२० आश्विन काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरू भएको छ । कूल ७११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् । पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ ।
कांग्रेस विधानको नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति सङ्ख्या चार पुगेको छ । महामन्त्रीको सङ्ख्या तीन पुर्याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सहप्रवक्ताको सङ्ख्या थप हुने पार्टीले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या
१.सभापति एक
२.बरिष्ठ उपसभापति एक
३.उप–सभापति एक महिला, एक समावेशी सहित चार
५.खुल्ला दुई, महिला एक, आदिवासी जनजाती एक, दलित एक, मधेशी एक, खसआर्य एक, थारु एक, मुस्लिम एक र पिछडिएको क्षेत्र एक र अल्पसंख्यक समुदाय्अपाङ्गता भएका व्यक्तिबाट एक समेत निर्वाचित गरेका सह–महामन्त्री एघार जना
६.केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट मनोनित एक महिलासहित चार सहमहामन्त्री र कोषाध्यक्ष एक
७.सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यबाट मनोनित प्रवक्ता एक र आवश्यकता अनुसार विषयगत रुपमा सह प्रवक्ता
८.प्रत्यक्ष निर्वाचित गरेका पैँतालिस जना सदस्य
९.महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष निर्वाचित गरेका पन्ध्र जना सदस्य
१०.प्रत्येक प्रदेशबाट एक जना महिला सहित चार जना रहने गरी प्रत्यक्ष निर्वाचित गरेका अठ्ठाईस जना सदस्य र काठमाडौं उपत्यकाबाट एक महिला सहित दुई।
११.दलित महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिला र एक मधेशी दलित सहित चौध जना
१२.आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि मध्येबाट आठ महिला सहित वीस जना
१३.खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट आठ महिला सहित अठार जना
१४.मधेशी महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिलासहित तेह्र जना
१५.थारु महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित छ जना
१६.मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिला सहित पाँच जना
१७.पिछडिएको क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिला सहित दुई जना
१८.अपसंख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट एक जना
१९.अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना
२०.श्रमिक महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित तीन जना।
२१.पेशागत विषयगत क्षेत्रका महाधिवेशन प्रतिनिधिहरु मध्येबाट दुई महिला सहित सात जना सदस्य।
२२.युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुनेगरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुइजना र खुल्ला सात जना गरी एक्काइस जना सदस्य।
२३.नेपाली जन सम्पर्क समितिकाबाट दुई महिला खुला र तोकिए बमोजिमका क्षेत्रबाट निर्वाचित हुने पाँच गरी सात जना।
२४.प्रजातन्त्र सेनानी, शहिद परिवार र द्वन्द्व प्रभावित परिवारका महाधिवेशन प्रतिनिधि मध्येबाट शहिद परिवार एक सहित तीन जना सदस्य।
२५.केन्द्रीय सभापतिले मनोनित छैसट्ठी जना
२६.प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ ।