अनावश्यक कार्यक्रम कटौति गरिएकै हो – अर्थमन्त्री शर्मा
२७ भदौ काठमाडौं।आज अर्थमन्त्री जनार्दन शर्माले केपी ओली सरकारले अघि बढाएको केही कार्यक्रम अनावश्यक भएकाले रोकिएको बताएका छन्।
आइतबार बजेटका विषयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार घटाउन र राज्यको दायित्व पूरा गर्न अनावश्यक कार्यक्रम रोकिएको बताएका हुन्।
मन्त्री शर्माले आवश्यकताका केही कार्यक्रम बाहेक पुरानै बजेटको कार्यक्रम निरन्तरता दिएको तथा स्वदेशी उद्योगलाई संरक्षण गर्नेगरी केही करको दर हेरफेर गरेको जानकारी दिए। बजेट बितरणमूखी भएको भन्ने आरोपको खण्डन गर्दै अर्थमन्त्री शर्माले राज्यको दायित्व पूरा गर्दै दीर्घरोगी तथा राजनीतिक आन्दोलनका योद्धाहरुलाई सहयोग गर्न मात्र खोजेको बताए।
अब हरेक महिना १० प्रतिशत पूँजिगत खर्च गर्ने भन्दै मन्त्री शर्माले पूँजिगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने पनि जानकारी दिए। विद्युत आपूर्ति लोड व्यवस्थापनका लागि अर्धजलाशय र जलाशययुक्त आयोजना नै आजको आवश्यकता भएकाले सरकारले यस्ता आयोजनामा कर छुट दिएर विदेशी लगानी आकर्षित गर्न खोजेको बताए।
आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धि दरलाई ७ प्रतिशतमा र्पुयाउने दाबी गरे। करको दायरालाई पनि विस्तार गर्ने, देशमा उत्पादनमुलक कार्य गर्न उद्योग सञ्चालन गर्नुपर्ने भन्दै कच्चा पदार्थमा आधारित उद्योगहरुलाई छुट दिइने बताए।
अर्थमन्त्री शर्माले सरकारले अब बिद्युतीय सवारी साधनलाई नै प्राथमिकता दिएको र अब देशभित्रै विद्युतीय सवारी उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने बताए। शेयर बजारका बिषयमा उनले ४२ लाख जनताको लगानीको रक्षा गर्नुपर्ने अवस्था रहेको बताउँदै यस विषयमा आफूहरु गम्भीर रहेको बताए।