नेप्सेमा ७६.६५ अंकको गिरावट


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८
9.3K
SHARES

३१ भदौ काठमाडौं । बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । असोज १ गतेदेखि लागु हुनेगरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका अधिकांश बैंकले निक्षेपमा दिने ब्याजदर बढाएका छन् । सनराइज बैंकले डबल डिजिटमा नै  ब्याजदर प्रकाशित गरेको छ ।

जसको प्रभाव सेयर बजारमा देखिँदा नेप्सेमा २.६५ प्रतिशतको उच्च गिरावट हुँदा नेप्से असार २२ गते यताकै न्यून बिन्दूमा झरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्सेमा ७६.६५ अंकको उच्च गिरावट हुँदा २८१२.३८ अंकमा झरेको छ । ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २८०० अंकको बिन्दुबाट तल झरे पनि अन्तिममा केही सम्हालिँदा २८०० अंक माथि नै बन्न्द भएको छ । प्रि–ओपन सेसनमा भएको सामान्य वृद्धिले इन्ट्रा–कारोबारमा नेप्से २८८९.२१ अंकको उच्च बिन्दु कायम गर्दा नेप्सेले २७९५.२४ अंकको तल्लो बिन्दू कायम गरेको थियो ।

असार २२ गते  २८०१.१३ अंकमा बन्द भएको नेप्से त्यसयता लगातार बढेर भदौ २ गते ३१९९.०३ अंकको नयाँ उचाई कायम गरेको थियो । तर, मौद्रिक नीतिले सेयर धितो कर्जामा प्रतिव्यक्ति १२ करोड र प्रतिव्यक्ति प्रतिबैंक ४ करोडको सीमा तोकेसँगै  सेयर बजार घट्न सुरु भएको थियो । त्यसपछि असोज १ गते भोलिबाट लागु हुनेगरी वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ व्याजदरमा अनपेक्षित वृद्धि सँगै सेयर बजारमा भने आज उच्च गिरावट भएको हो ।

आज नेप्सेसँगै सबै उपसूचक गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक २.११ प्रतिशतले गिरावट हुँदा  वित्त कम्पनी उपसूचक सर्वाधिक ४.९४ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.०८ प्रतिशत, विकास बैंक उपसूचक ३.६३ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३.६२ प्रतिशत, व्यापार उपसूचक ३.२६ प्रतिशत र लघुवित्त उपसूचकमा ३.१४ प्रतिशतको उच्च गिरावट भएको छ ।

बजार परिसूचक नेप्सेमा गिरावट भए पनि आज कारोबार रकम भने बढेको छ । मंगलबार र बुधबार लगातार दुई दिन ५ अर्बमा सीमित कारोबार रकम आज भने ९ अर्ब नाघेको छ ।

आज नेप्सेमा १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३ करोड ३९ लाखको कारोबार भएको छ । आज नेप्सेमा अरुण भ्याली हाइड्रोपवारको सर्वाधिक ३८ करोड ६० लाखको कारोबार हुँदा रिडी हाइड्रोपवारको २८ करोड र अपी पावरको साढे २५ करोडको कारोबार भएको छ ।

आज नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा १८३ कम्पनिको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । केही समय अगाडि आईपीओ जारी गरेर नेप्सेमा सूचिकृत भएको मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा राष्ट्रिय बिमा कम्पनीको सेयरमूल्यमा ०.०२ प्रतिशतको सामान्य बढोत्तरी भएको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.१७ प्रतिशतले गिरावट हुँदा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको सेयरमूल्य ७.१८ प्रतिशत आईसीएफसी फाइनान्सको  सेयरमूल्य ७.०३ प्रतिशतले घटेको छ ।