नेप्सेमा हरियो, घट्यो कारोबार रकम


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८
7.3K
SHARES

५ असोज काठमाडौ । लगातार पाँच दिनसम्म घटेको सेयर बजार मंगलबार भने सम्हालिएको छ । यस दिन बजारमा तीव्र उतारचढाव देखिए पनि बन्द हुँदा नेप्से १३.८३ विन्दुले बढेको छ । ०.५१ प्रतिशतले बढेको नेप्से २७१२.०७ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४७ प्रतिशत (२.३६ विन्दु) ले बढेर ५०८.६३ मा पुगेको छ ।

बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै सेयर बजार लगातार ओरालो लाग्दै आएको हो । बजारले पाँच दिनमा १८३ विन्दु गुमाइसकेको थियो । मंगलबार पनि सुरुमा बजार तीव्र गतिमा ओरालो लाग्यो तर आधा घण्टापछि सम्हालिएर बिस्तारै उकालो चढ्न सुरु गरेको थियो ।

बजार बढे पनि कारोबार रकम पनि घट्न पुगेको छ । यस दिन ९५ हजार ६४६ कारोबारबाट एक करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँमा खरिद बिक्री भएका छन् । सोमबार एक लाख सात हजार ५९६ कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर आठ अर्ब ४९ करोड ३४ लाख एक हजार नौ रुपैयाँमा खरिद बिक्री भएका थिए ।

मंगलबार कारोबार भएका १३ वटा समूहमध्ये चारवटाबाहेक अरुको सूचकांक बढेको छ । सबैभन्दा बढी उकालो लाग्नेमा होटल समूह देखिएको छ । यो समूहको सूचक २.३८ प्रतिशतले बढेको छ । त्यस्तै बैंक, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बिमा, निर्जीवन बिमा र अन्य समूहको सूचक पनि हरियो बनेका छन् भने वित्त, उत्पादनमूलक, व्यापार र म्युचुअल फन्ड समूहको सूचकमा रातो पोतिएको छ ।

यस दिन कारोबार भएका २२३ स्क्रिप्टमध्ये १३२ वटाको भाउ बढ्दा ७४ वटाको घटेको छ भने १७ वटाको क्लोजिङ मूल्यमा कुनै परिवर्तन आएन । मनकामना स्मार्ट लघुवित्तको सेयर भाउमा पोजेटिभ सर्किट लागी १०८८.७० पुगेको छ । सबैभन्दा बढी गुमाउनेमा सानिमा लार्ज क्याप फन्डका लगानीकर्ता परेका छन् । यो स्क्रिप्टको सेयर मूल्य ३.४३ प्रतिशतले घटेको छ ।