नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने एशियाली विकास बैंकको प्रक्षेपण
६ असोज काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य नेपालले भेटाउन नसकेको र चालु आर्थिक वर्ष २०७८÷७९ का लागि यसअघि गरिएको प्रक्षेपण पनि पूरा गर्न नसकिने देखिएकाले लक्ष्य संशोधन गरिएको एडीबीले जनाएको छ ।
‘एसियन डेभलपमेन्ट आउटलुक’ ले यसअघि सार्वजनिक गरेको नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले बुधबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा जीडीपी वृद्धिदर ३.१ प्रतिशत अनुमान गरेकोमा २.३ प्रतिशतमात्रै कायम भएको देखिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०७८÷७९ का लागि एडीबीले यसअघि ५.१ प्रतिशत वृद्धिदर प्रक्षेपण गरिएकोमा त्यसलाई संशोधन गर्दै ४.१ प्रतिशतमा झारेको छ ।
चालु आर्थिक वर्षको सुरुवाति दिनहरुमा कोभिड–१९ महामारी संक्रमणदर उच्च नै रहेकाले आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले जनाएको छ । न ।