अमेरिकाले दिएको १ लाख ६२० डोज फाइजर खोप नेपाल आउँदै
८ कात्तिक काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको फाइजर खोप आज नेपाल आउदैछ । अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज काठमाडौं आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ ।
अमेरिकाले यसअघि जुलाईमा जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग स्वरुप उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।
अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ ।
एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।