राष्ट्रबैंकले एक अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्दै
१५ कात्तिक काठमाडौ । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल (ऋणपत्र) बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ९१ दिन अवधिको १० करोड बराबरको र ३६४ दिन अवधिको एक अर्ब ५६ करोडको गरी कूल एक अर्ब ६६ करोडको टे्रजरी बिल बेच्ने भएको छ । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने टे्रजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने टे्रजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको टे्रजरी बिल बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बंैकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।