यस कारण हस्तक्षेप गर्नुपर्यो – गभर्नर अधिकारी
२३ कात्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरलाई नियामककाे भूमिका सहजकर्तामा मात्रै सीमित गर्नेगरी काम गर्ने निर्देशन दिएका छन् । नेपाल बैंकर्स संघकाे साधारणसभालाई सम्बाेधन गर्दै गभर्नर अधिकारीले प्रतिस्पर्धाबाट नै मूल्य तय हुने र त्यसकाे लाभ समग्र क्षेत्रले प्राप्त गराेस् भन्ने चाहना भएपनि अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि सहजकर्तामात्रै नभएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएकाे बताए ।
“काेभिडपछि ग्राहकका आवश्यकता सम्बाेधन गर्दा कर्जा विस्तार उच्च भयाे, बैंकहरूले वित्तीय सुशासन उलङ्घन गरे,” गर्नर अधिकारीले भने, “राष्ट्र बैंकले पनि काेभिडपछि ६ महिनासम्म कर्जा तिर्ने समय थप गर्दा कर्जा रिकभरी भएन । स्राेत सुनिश्चितताविना उच्च कर्जा विस्तार र रेमिट्यान्स नबढ्दा ठुलाे समस्या भयाे केही संस्थाले वित्तीय अनुशासन उलङ्घन गरे, हामी हस्तक्षेप गर्न बाध्य भयौँ ।”
बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट अघि बढिरहेको उनले बताए । “समग्र आर्थिक क्षेत्र चुनाैतीबाट गुज्रिएको छ। वित्तीय क्षेत्रमा समस्या भइरहेकै छ । फिस्कल क्षेत्रमा पनि धेरै व्यवस्थापन गर्नुपर्ने छ,” उनले भने, “बैंकिङ क्षेत्रमा महामारीमा सुपरभिजन नहुँदा सुशासनमा कमी देखिएकाे छ।” उनले कर्जा लगानी गर्दा धेरै उत्पादनशिल क्षेत्रमा लगानी गर्न निर्देशन दिँदै बैंकिङ क्षेत्रकाे वृद्धिदर आर्थिक वृद्धिदरसँग तादम्यता हुनुपर्ने बताए ।