लिपुलेकबारे भारतको यस्तो विज्ञप्ति , अब के गर्छ नेपाल ?


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १ २०७८
3.4K
SHARES

१ माघ काठमाडौ । भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको छ । भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ ।

दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ । विज्ञप्तिमा भनिएको छ,‘भारत–नेपाल सीमामा भारत सरकारको अडान सर्वविदित, यथावत् र स्पष्ट छ । नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’

भारत सरकारको धारणामा स्थापित अन्तर–सरकारी संयन्त्र र माध्यमहरुबाट सबैभन्दा उपयुक्त रुपमा सञ्चार र संवाद गर्न सकिने उल्लेख गरिएको छ । ‘पारस्परिक रुपमा सहमति भएका जुन सीमा समस्याहरु बाँकी छन् । हाम्रो घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा आधारित रहेर ती समस्या सधै सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले सन् २०१४ मा नेपालको सुस्ता र कालापानी क्षेत्रको सीमा विवादको लागि समाधान गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्र मार्फत सीमा विवादको समस्या समाधान गर्नु पर्छ भन्ने अडान राखेको हो । तर नेपालले भारतलाई कूटनीतिक वार्ताको लागि लगातार रुपमा विगत दुई वर्षदेखि पहल गर्दा पनि वार्तामा आउन मानेको छैन ।

पुस १५ गते नेपालको बाटो हुँदै मानसरोवर जाने बाटो निर्माण गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा बोलेपछि उक्त अभिव्यक्तिलाई लिएर नेपालमा लगातार विरोध भइरहेको छ ।