सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २ २०७८
1.8K
SHARES

२ माघ काठमाडौँ। मानवीय सहायता सामग्री बोकेर आइतबार विहान नेपाली टोली अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायतको सहयोग सामाग्री लिएर हिमालय एयरलाइन्सको जहाजमा अफगानिस्तान प्रस्थान गरेको हो ।

मन्त्रालयको कर्मचारीसँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोली करिब १४ टन बराबरको राहत सामग्री लिएर काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए ।

आइतबार विहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले औषधिजन्य सामग्रीसँगै, लत्ताकपडा र घरायसी सामग्री राहत स्वरुप अफगानिस्तान पठाइएको बताए ।

उक्त सामग्री सरकारीबाट नभइ निजी व्यवसायिक क्षेत्रबाट उपलब्ध गराइको भन्दै मन्त्री खड्काले निजी क्षेत्रलाई धन्यवाद दिए । साथै, राहत ढुवानीका लागि निजी क्षेत्रकै हवाई हिमालयन एयरलाइन्सले निःशुल्क जहाज उपलब्ध गराएको समेत मन्त्री खड्काको भनाइ छ ।

आइतबार अफगानिस्तान प्रस्थान गरेको नेपाली टोलीलाई काबुल स्थित संयुक्त राष्ट्र संघको प्रतिनिधिले स्वागत गर्नेछ । सोही राष्ट्र संघको गाडीमा राहत सामग्री राखि वितरण गरिने मन्त्री खड्काले बताए । नेपालको इतिहासमा पहिलो पटक हवाइजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग गरिएको उनको भनाइ छ ।