मुख्यमन्त्रीसहित १२ जिल्लाका प्रजिअलाई गृहमन्त्रीको फोन
९ माघ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दुईवटा प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले आइतबार टेलिफोन गरी सीमानाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन्ट परीक्षणलगायत विषयमा जानकारी लिँदै प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका हुन् ।
“गृहमन्त्री खाँणले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ,” गृहमन्त्रीको सचिवालयले भनेको छ, “उहाँले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिनुभएको छ ।” गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिकमा कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ देखिए आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।