७०५ स्थानीय तहको मतपरिणाम : कसको कति मत ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
5.7K
SHARES

८ जेठ  काठमाडौं । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बिहान साढे ११ बजेसम्म ७०५ स्थानीय तहको मत परिणाम आइसकेको छ । अब ४५ स्थानीय तहको मात्र मत परिणाम आउँन बाँकी छ । जसमध्ये पाँच महानगरपालिका र अन्य स्थानीय तह बाँकी छन् ।

प्राप्त मत परिणामले अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा ३६६ सिट ल्याएर दोस्रो दलको हैसियत पाएको नेपाली कांग्रेसलाई सबैभन्दा धेरै लाभ मिलेको छ । कांग्रेसले अहिलेसम्म ३११ सिट जितेर पहिलो पार्टी बनेको छ । उसको अझै १४ स्थानीय तहमा अग्रता देखिन्छ ।  अघिल्लोपटक २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले अहिलेसम्म १९० स्थानीय तहमा जितेर दोस्रो हैसियतमा छ । उसको अझै १६ स्थानीय तहमा अग्रता छ ।

यस्तै, अघिल्लो स्थानीय तह निर्वाचनमा १०६ स्थानीय तह जितेर तेस्रो दलको हैसियत पाएको नेकपा माओवादीले यसपटक पनि आफ्नो पोजिसन कायम राखेको छ । तर, स्थानीय तहतर्फ भने माओवादीले परिणाम बढी निकालेको छ । उसले अहिलेसम्म १२० स्थानीय तह जितेको छ भने अझै २ स्थानीय तहमा उसको अग्रता देखिन्छ ।  अघिल्लोपटक ३४ स्थानीय तह जितेर चौथो हैसियत बनाएको तत्कालीन संघीय समाजवादी फोरम अहिले जनता समाजवादी पार्टी भएको छ । उसले आफ्नो चौथो स्थान कायम राख्दै अहिलेसम्म २७ स्थानीय तहमा जित निकालेको छ । अझै चार स्थानीय तहमा उसको अग्रता छ ।

यसैगरी, गत वर्षसम्म अस्तित्वमै नरहेको नेकपा एकीकृत समाजवादी पार्टीले भने पार्टी स्थापनाको एक वर्ष नपुग्दै भएको निर्वाचनमा पाँचौँ पार्टीको हैसियत बनाएको छ । नेकपा एसले अहिलेसम्म १७ स्थानीय तहमा जित निकालेको छ भने अरु दुई स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।  अघिल्लो स्थानीय तह निर्वाचनमा २५ स्थानीय तह जितेर पाँचौँ पार्टीको हैसियत बनाएको तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा अहिले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भएको छ । अहिलेसम्म लोसपा नेपालले १२ स्थानीय तहको नेतृत्वमा जित निकालेको छ भने अरु पाँच ठाउँमा अग्रता काम राखेर छैटौं दलको हैसियत बनाएको छ ।