काठमाडौंमा बढ्दै हैजा, देशभर संक्रमितको संख्या ७० पुग्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १२ २०७९
2.7K
SHARES

१२ भदौ काठमाडौं । गत असार ९ गतेदेखि देखिएको हैजा संक्रमण भदौ १० गतेसम्म ७० जनामा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७० पुगेको हो ।

महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै ३८ जना तथा काठमाडौं जिल्लाका अन्य आठ पालिकामा २१ जनामा हैजा पुष्टि भएको छ । ललितपुरका दुई पालिकामा ६ र भक्तपुरका ३ पालिकामा ३ जनामा हैजा पुष्टि भएको छ ।

नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा एक/एकजनामा हैजा पुष्टि भएको छ । कमाठमाडौं उपत्यकाका तीन जिल्लामा भदौ ८ गतेसम्म एक हजार ३९ जनामा हैजा देखिएको महाशाखाको तथ्यांक छ ।

हालसम्म परीक्षण गरिएकामा धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जिवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ । साथै एकपटक वा एक सिजनमा मात्रै नभइ हरेक पटक पिउने पानी शुद्धिकरण गर्न महाशाखाको अनुरोध छ ।