टुकुचा खोला माथि लक्ष्मी बैंक
२ असोज काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचन अघि नै काठमाडौंका अवैध संरचना भत्काउने योजना बनाएका थिए । आफ्नो योजनाअनुसार मैदानमा उत्रिएर बालेनको नेतृत्वमा महानगरको डोजर भदौ ६ गतेदेखि अवैध संरचनामा चल्न सुरु भयो ।
अवैध संरचनामा डोजर चल्दै गर्दा टुकुचा खोला मिचिएको निवेदन पनि स्थानीयले नै महानगरमा दिएको खुलेको छ । मेयर बालेनको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार बालेनले अवैध संरचनामाथि ‘एक्सन’ लिएपछि स्थानीयले टुकुचा अतिक्रमण भएको निवेदन पनि दिएका थिए ।
“अवैध संरचना भत्काउने योजना चुनावअघि नै बनिसकेको थियो । अवैध संरचना भत्काउँदै गर्दा टुकुचा अतिक्रमणको निवेदन स्थानीयबाटै महानगरमा पर्यो,” शाहले भने, “त्यसपछि खोज्दै जाँदा साँच्चिकै खोला मिचिएको पत्ता लाग्यो ।”
त्यसपछि बालेन नेतृत्वको इन्जिनियर टोलीले टुकुचाको नक्सा हेर्दा नक्सामा पनि भेटिएन । स्थानीयको प्रमाणसहितको निवेदनकै आधारमा बालेनको योजना बनेको प्रमुख स्वकीय सचिव शाहले बताए । महानगरका अनुसार टुकचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, लक्ष्मी बैंकको केन्द्रीय कार्यालय , न्युप्लाजादेखि पुतलीसडक क्षेत्रमा गायब भएको छ ।

लक्ष्मी बैंकको केन्द्रीय कार्यालयको रहेको ठाउमा डोजरले करिब ५० मिटर खोतल्दा खोला फेला परेको छ । उक्त टुकुचा खोला माथि बैंकको ६ तल्लाको भवन रहेको छ ।
