बुढीगण्डकी जलविद्युतको सीइओमा प्रदीप थिके
१८ बैशाख काठमाडौं। बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी प्रदीप थिकेले पाएका छन्। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक थिकेलाई संचालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनले यसअघि १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको प्रबन्ध निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए।
बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न लागेको छ। यो आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिइएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले आफैंले निर्माण गर्ने भन्दै चिनियाँ कम्पनीबाट फिर्ता ल्यायो।
ऊर्जा मन्त्रालयले आयोजना निर्माणका लागि कम्पनी दर्ता गरेको हो। अहिले यो आयोजना प्राधिकरण मातहत ल्याउने प्रक्रिया थालिएको छ। गत वर्षको चैत २४ गते सरकारले बुढीगण्डकी चिनियाँ कम्पनीसँग खोस्ने निर्णय गरेको थियो। प्रस्तावित आयोजनाको विस्तृत अध्ययन सकिएको छैन। आयोजना धादिङ र गोरखामा निर्माण हुनेछ। यसको निर्माण लागत ३ खर्ब ३१ अर्ब रुपैयाँ हुने अनुमान छ। अहिलेसम्म निर्माणको मोडालिटी कस्तो हुने भनेर टुंगो भइसकेको छैन।