आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ – राष्ट्रपति पौडेल


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १६ २०८०
2.2K
SHARES

१६ जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘महिला हक अधिकार स् सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

“नेपालको संविधान २०७२ ले महिलाहरूलाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ, संविधानले ग्यारेन्टी गरेको आरक्षणको यो व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता हो ।

यसका लागि विभिन्न नीतिगत तथा संस्थागत प्रयासहरू भइरहेका छन्, यति हुँदाहुँदै पनि महिलाहरू तुलनात्मक रुपमा सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवम् आर्थिक रूपमा पछाडि परेका छन्”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।

विसं २०६३ जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । रासस