पोखरा आउँदा ३ यात्रु ल्याएको ड्रुक एअरको जहाज ४२ यात्रु लिएर फर्कियो


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २३ २०८०
3.4K
SHARES

२३ भदौ पोखरा । भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्रुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो ।सोही जहाज पोखरा विमानस्थलबाट जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए ।

‘भुटानबाट आएर पोखरा विमानस्थलमा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए । यो पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो’, उनले भने ।

कर्णले भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको सुनाए । नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको थियो ।

भुटानबाट पोखरा आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए। पोखराबाट भुटान जाने पर्यटनमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक छन् ।

भुटानबाट पोखरा आएका पर्यटक र भुटान जाने पर्यटनका पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत र विदाई गरेको थियो । यसअघि पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी जहाज आएको थियो । उक्त विमान फर्किंदा खाली फर्किएको थियो ।