बीआरआईमा सी चिनफिङले अघि सारे यी ८ बुँदे कार्ययोजना
१ कार्तिक काठमाडौं । चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)सँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा भइरहेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना विस्तार र यसको कार्यान्वयन बृहत बनाउनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन् । उनले चीनदेखि युरोपको रेल निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि नयाँ ढुवानी कोरिडोर निर्माण गर्ने बताएका छन् ।
तेस्रो बुँदामा चिनियाँ विकास बैंकबाट ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रितवद्धता रहेको छ । यस्तै चौथो बुँदामा हरित विकास उल्लेख छ भने पाँचौँ बुँदामा विज्ञान तथा यान्त्रिक बौद्धिकताको विकासबारे उल्लेख छ । छैठौँ बुँदामा यस क्षेत्रका मानिसबीच सांस्कृतिक आदानप्रदानका साथै पर्यटकीय सहकार्य उल्लेख छ भने सातौँमा पारदर्शिता सहितको सहकार्य गरिने उल्लेख छ । आठौँ बुँदामा बीआरआई सम्बद्ध संस्था र सचिवालय गठन गर्ने भनिएको छ ।
आठ बुँदे अवधारणा अघि सारेका सीले चीनले पारदर्शीरुपमा आपसी सहकार्य गर्दै सबैको साझा समृद्धिमा टेवा पुर्याउने बताए । ‘चीनले आफ्नो मात्रै विकास गर्न खोजेको छैन । पारदर्शीरुपमा आपसी सहकार्य गर्दै समय सापेक्ष आधुनिकीकरणको बाटोमा सबैलाई अघि बढाउनु हाम्रो लक्ष्य हो,’ सीको भनाइ उद्दृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।
चिनियाँ राष्ट्रपति सीले सिल्क रोड पर्यटक प्रवर्द्धनका लागि पर्यटकीय गठबन्धन बनाउने घोषणा गरेका छन् । ‘अन्तर्राष्ट्रिय संस्था, मिडिया, थिंकट्यांक तथा सांस्कृतिक मञ्चमार्फत यस क्षेत्रमा सांस्कृतिक आदनप्रदानका लागि पर्यटकीय गठबन्धन निर्माणका साथै बीआरआई सचिवालयको स्थापना गरिनेछ,’ उनले भनेका छन् ।
यस्तै हरित विकासको प्रवर्द्धनका लागि विकसित मुलुकका १ लाख मानिसलाई तालिम प्रदान गर्ने उनको घोषणा छ । वार्षिक रुपमा विद्युतीय व्यापार महोत्सव आयोजना गर्ने उनको घोषणा छ ।
आगामी पाँच वर्षभित्र बीआरआईमार्फत वाणिज्य व्यापार ३२ खर्ब र सेवा व्यापार ५ खर्ब पुर्याउने लक्ष्य रहेको सीले बताएका छन् । ‘यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रतिवद्धता रहेको छ,’ सीले सम्मेलनमा भनेको कुरा उद्दृत गर्दै सिन्ह्वाले लेखेको छ ।
यान्त्रिक बौद्धिकता (एआई)को लोकप्रियता र चुनौती बढिरहेको अवस्थामा सीले यसको विकास र अनुसन्धानका लागि बीआरआईमा सहकार्य गर्ने मुलुकहरुमा अनुसन्धानका लागि प्रयोगशाला निर्माण गर्ने घोषणा गरेका छन् । चीनको बीआरआईमा आकर्षण बढ्दो छ । तमाम आलोचनाका बाबजुद बेइजिङले आफ्नो प्रभाव विस्तार जारी राखेको छ ।
‘सुरक्षित एआई प्रविधिको विकास चीनको प्राथामिकता हो । यसको अनुसन्धानका लागि वैज्ञानिक प्रयोगशालाका साथै प्रत्येक वर्ष बीआरआई विज्ञान सम्मेलन गर्ने घोषणा गर्दछु,’ सीले सम्मेलनमा भनेका छन् । सीले स्वास्थ्य करिडोर निर्माण गर्ने पनि उल्लेख गरेका छन् । कोरोना महमाकारीको अवस्था स्मरण गर्दै सीले स्वास्थ्य संकटकालको अवस्थामा सबैलाई सहज र सरल स्वास्थ्य सुविधा तथा सामाग्री पहुँचका निम्ति स्वास्थ्य कोरिडोर आवश्यक रहेको औँल्याएका हुन् ।