अहिले चैते धान खेतीप्रति आकर्षित हुँदै किसानहरू
१६ फागुन डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धान खेती गर्न थालेको २० वर्ष भयो । उनी वर्षमा १० देखि १५ क्विन्टल चैते धान मात्रै फलाउँछन् । यसरी फलाएको धान उनको परिवारले उपभोग गरी बचेको बेच्ने पनि गर्छन् ।वर्षमा दुई बाली धान भित्र्याउँदा दोहोरो फाइदा हुने कार्की बताउँछन् । यो वर्षको लागि उनले चैते धानको विउ छरिसकेका छन् । ‘गहुँ काटिसकेपछि जमिन बाझो छोड्नु भन्दा चैते धान रोप्नु उत्तम हुन्छ, कार्कीले भने, यसरी एकै वर्ष दुई ओटा धान बाली भित्राउँदा डबल फाइदा हुन्छ ।’
धानबाट मात्रै नभएर परालबाट पनि फाइदा लिन सकिने कार्की बताउँछन् । चैते धानको भात खानमा अरू धानको चामल भन्दा स्वादिलो हुने कार्कीको भनाई छ । साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनले बताए ।
चैते धानखेतिको लागि अन्य धानखेतीको तुलनामा अलि बढी मिहिनेत चाहिन्छ’ उनले भने, ‘सुरुमा बिउ उमार्न गाह्रो हुन्छ, रोपेपछि पानी बढी चाहिन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी सुक्छ पानी भएन भने बाली सप्रिदैन ।’
कार्की जस्तै शिखर नगरपालिका–२ कालागाडका अन्य किसानहरूले पनि यस वर्ष चैते धान रोप्ने भएका छन् । यस क्षेत्रका करिब ३० परिवारले चैते धानको लागि फागुन पहिलो साता बिउ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रति किसान ५ केजीदेखि १५ केजीसम्म बिउ राखेका छन् ।
कृषि ज्ञान केन्द्र डोटीबाट चैते धानको बिउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताए । पहिलो पटक चैते धान रोप्न लागेकाले उनीहरू ढुक्क भने छैनन् । ‘धान रोप्ने भनेर बिउ राखेका छौँ मौसमले साथ दिने हो कि होइन, खडेरी परेमा मिहिनेत खेर जान्छ होला’ किसान रने धामीले भने, ‘मल पनि पाइने हो कि होइन चिन्ता पनि लागेको छ ।’
कृषि ज्ञान केन्द्र र किसानका बिचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटीले बताए । ज्ञान केन्द्रकै सल्लाह अनुसार बिउ राखेको बताउँदै वडाध्यक्ष बोगटीले किसानलाई समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।