सीमामा काँडेतार लगाउनुपर्छ भन्दा प्रधानमन्त्रीमा बस्न दिएनन् – सम्मानित नेता खनाल
२३ फागुन काठमाडौं । राष्ट्रवादी धारमा निर्माण गरिएको चलचित्र ‘काँडेतार’को प्रिमियर गरिएको छ । शुक्रबार रिलिज हुने चलचित्रको मंगलबार प्रिमियर गरिएको हो । प्रिमियरमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायत नेता तथा कलाकारहरू पुगेका थिए ।
“यस्तो फिल्म अहिले तीन करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु,” चलचित्र हेरेपछि नेता खनालले भने, “त्यसैले मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म तीन करोड नेपालीले हेर्नुपर्छ ।”
नवल खड्काको निर्देशनमा तयार भएको चलचित्रले नेपाल र भारतको सम्बन्धको कथासँगै नेपालको सीमामा भारतले बारम्बार गर्ने अथिक्रमण प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य सन्देश रहेको चलचित्र हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रूपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।
निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीको भावनालाई समेटेर चलचित्र तयार पारिएको बताए ।चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायत कलाकारको अभिनय छ ।