चुनावमा होमिएका मोदी : मुख्यमन्त्री पक्राउ, कांग्रेस आईको बैंक खाता रोक्का
१० चैत काठमाडौं । आफूलाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक दाबी गर्ने भारतमा चुनावको मिति तोकिनुअघि र मिति तोकिएपछि भएका केही घटनाक्रमले त्यहाँ चुनावी प्रतिस्पर्धामा दलहरूले समान अवसर पाउने सम्भावना कम देखिएको छ । भारतमा पाँच चरणमा आगामी अप्रिल–मेमा चुनाव हुँदैछ । चुनावको उम्मेदवारी दर्तासमेत केही निर्वाचन क्षेत्रहरूमा सुरु भइसकेको छ । लोकसभाका ५४२ सिटका लागि हुने चुनावमा मुख्य प्रतिस्पर्धा भाजपा नेतृत्वको सत्ता गठबन्धन एनडीए र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन इन्डियाबीच हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भाजपाका नेता प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि चुनावमा होमिएका छन् ।
चुनावअघि केन्द्र सरकारले विभिन्न क्षेत्रमा ठूलो संख्यामा योजनाहरू शिलान्यास गरेको छ भने खाना पकाउने ग्यासको मूल्य पनि घटाएको छ । सत्तामा रहेको अवसरको उपयोग गर्दै मोदी सरकारले जनतालाई लोभ्याउन योजना शिलान्यास मात्र गरेको छैन, विपक्षीलाई कमजोर बनाउन केन्द्रीय जाँच एजेन्सीहरूको पनि दुरुपयोग गरेको आरोप विपक्षी पार्टीहरूले लगाएका छन् ।
बिहीबार दिल्लीका मुख्यमन्त्री तथा एक मुख्य विपक्षी नेता अरविन्द केजरीवाललाई मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा केन्द्रीय एजेन्सी प्रवर्तन निर्देशनालय (ईडी) ले गिरफ्तार गरेको छ । मोदी सरकारले विपक्षीलाई कमजोर बनाउन चालेको यो पछिल्लो कदम हो । केजरीवाललाई पक्राउ गरिएपछि उनको दल आम आद्मी पार्टीले मात्र होइन, सम्पूर्ण विपक्षी दलहरूले सरकारको चर्काे आलोचना गरेका छन् । साथै शुक्रबार विपक्षी दलहरूले निर्वाचन आयोग गुहारेका छन् । शुक्रबार विपक्षी दलको एक प्रतिनिधिमण्डलले निर्वाचन आयोग पुगेको छ । र केन्द्रीय एजेन्सीहरूको दुरुपयोग गरिएको भन्दे निवेदन दिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार विपक्षी दलहरूले केन्द्रीय एजेन्सीहरूको दुरुपयोग गरेर लोकतन्त्रलाई कमजोर पारिएको तर्क गरेका छन् ।
उनीहरूले केजरीवालको गिरफ्तारी अवैधानिक रहेको बताएका छन् । केही महिनाको अन्तरालमा दुईवटा मुख्यमन्त्री गिरफ्तार भएका छन् । केजरीवाललाई पक्राउ गर्नुअघि ईडीले झारखण्डका निवर्तमान मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरेको थियो । आफू पक्राउ पर्ने निश्चित भएपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा दिएकै दिन उनलाई पक्राउ गरिएको थियो ।
यसरी पक्राउ परेका यी दुवै विपक्षी नेता प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मुखर भएर प्रतिवादमा उत्रिन्थे । विपक्षीहरूले भाजपालाई सहयोग नगर्ने नेताहरूमाथि केन्द्रीय एजेन्सी लगाएर दुःख दिने गरिएको आरोप लगाउँदै आएका छन् । यति मात्र होइन, भारतको सबैभन्दा ठूलो विपक्षी दल कांग्रेस आईको बैंक खातासमेत रोक्का गरिएको छ । चुनावको मुखमा बैंक खाता रोक्का भएपछि कांग्रेस आईले पत्रकार सम्मेलन गरी आफ्नो पार्टीसँग रेलको टिकट काट्ने पैसा पनि नभएको बताएको छ । कांग्रेस आईका पूर्व अध्यक्ष सोनिया गान्धी र राहुल गान्धी तथा वर्तमान अध्यक्ष मल्लिकार्जुन खड्गे तीनै जना नेताले संयुक्त पत्रकार सम्मेलन गरी आफ्नो पार्टीको खाता रोक्का हुँदा करिब तीन अर्ब भारतीय रुपैयाँ रोकिएको बताएका थिए । कर नतिरेको विषयलाई लिएर कांग्रेस आईको बैंक खाता रोक्का गरिएको हो । पत्रकार सम्मेलनमा राहुल गान्धीले विपक्षीलाई कमजोर बनाउन बैंक खाता रोक्का गरिएको बताएका थिए । उनले लोकतन्त्रको हत्या भएको समेत टिप्पणी गरेका थिए ।