किन भयो गायिका ज्योति मगरमाथि ढुंगा प्रहार


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २५ २०८१
5.2K
SHARES

२५ वैशाख सुर्खेत । जुम्ला महोत्सवमा शनिबार गायिका ज्योति मगरले अप्रिय अवस्थाको सामना गर्नुपर्‍यो । उनले प्रस्तुति दिने क्रममा स्टेजमा ढुंगा प्रहार भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा अरू दिनभन्दा शनिबार भीड थियो । १० हजारभन्दा बढी दर्शक ज्योतिको प्रस्तुतिमा रमाइरहेका थिए ।

ज्योतिको स्वर गुञ्जिनेबित्तिकै दर्शकहरु उफ्रिन थाले । दर्शकको साथ पाएर ज्योति पनि हौसिन र उच्छृंखलता देखाउन थालिन् । उनको पहिरन पनि सधैं जस्तै भड्किलो थियो ।

दर्शक दीर्घामा रहेका केही युवा रक्सीले मातेका थिए । ज्योतिको प्रस्तुति र हाउभाउले उनीहरुले होस गुमाए । त्यसपछि केही युवाले भुईंबाट ढुङ्गा र माटो टिपेर स्टेजमा प्रहार गरेको भिडियोमा देख्न सकिन्छ ।

उनीहरुले अपशब्द प्रयोग गर्दै ज्योतिलाई गालीगलौचसमेत गरेका थिए । उक्त माहोललाई रोक्न साउण्ड सिस्टम केही समय बन्द गरिएको थियो ।

एक २३ वर्षीय युवकले ढुङ्गा हानेको सामाजिक सञ्जालमा रहेको भिडियोमा प्रस्ट देखिन्छ । तर, ज्योति मगरलाई भने ढुङ्गा लागेन । गायिका मगरको प्रस्तुतिमा रमाइलो गरिरहेका दर्शकहरु एकछिन तितरबितर भएका थिए ।

त्यसपछि ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा लगिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बढ्थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

गायिका मगरले गीत गाइरहेको समयमा अचानक प्राविधिक समस्याका कारण लाइन गएको हुँदा ती युवकले ढुङ्गा हानेको उनले दाबी गरे ।

‘प्राविधिक समस्याका कारण लाइन गएको थियो । सबै गायिका मगरको प्रस्तुतिमा रमाइलो गरिरहेका थिए । लाइन गएपछि दर्शक दीर्घाबाट ढुङ्गा प्रहार भएको हो’, अध्यक्ष बुढ्थापाले भने ।

सुरक्षाकर्मीलाई पनि भीड समाल्न हम्मेहम्मे भएको थियो । जेनेरेटरमा तेल सकिएको र लोडसेडिङका कारण बत्ती गएको हुँदा केही समय ज्योति मगरको प्रस्तुति रोकिएको अध्यक्ष बुढ्थापाको भनाइ छ ।

समाजिक सञ्जालमा गायिका मगरको आलोचना भइरहेको छ । उनको पहिरनमा धेरैले टीकाटिप्पणी गरिरहेका छन् ।

यसै विषयलाई लिएर गायिका मगरले सोमबार फेसबुकमा आफ्नो भनाइ सार्वजनिक गरेकी छन् । दर्शकले आफूलाई नभएर प्रहरीलाई ढुङ्गा हानेको ज्योतिको दाबी छ ।