केराले पाउन थाल्यो बजार
२५ वैशाख काठमाडौं । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो व्यवसायमा उत्साहका साथ लागेका छन्।उनले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । उनले भने, ‘विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।’ यहाँको केराले बजार धान्ने अवस्था रहँदा पनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उनले बताए।
लगातार परेको खडेरीले गर्दा उत्पादनमा पनि समस्या रहेको भन्दै उनले भने, ‘धेरै साथीहरुले भाडामा जग्गा लिएर खेती गर्नुभएको छ । सबैको सिँचाइको लागि बोरिङ हाल्ने स्थिति पनि छैन।’भारतीय केरा नआउने हो भने यहाँ उत्पादन भएका सबै साइजका केरा बिक्रीमा समस्या नहुने र केराले मूल्यसमेत बढी पाउने उनको भनाइ थियो।जिल्लामा विशेषगरी जी नाइन र मालभोग केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दुवै केराले बजार पाएसँगै व्यवसायी उत्साहित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ केरा जोनका संयोजक विष्णुहरि पन्तले जानकारी दिए।यद्यपि, लगातारको खडेरी, हावाहुरी र रोगकीराका कारण केराखेतीमा समस्या रहिनै रहेको र बजारीकरणमा भारतीय केराको मारबाट यहाँका किसान थप समस्यामा पर्ने गरेको उनले बताए।
कार्यान्वयन एकाइका सूचना अधिकारी इन्द्रप्रसाद ढुङ्गानाले जिल्लामा हाल २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको बताए । उनले यो याममा जिल्लामा वार्षिक रुपमा उत्पादित केराको २५ प्रतिशत बजारमा आउने गरेको उनले जानकारी दिए।यस समयमा नेपाली केराले बजार धान्ने उनको भनाइ थियो । उनका अनुसार जिल्लामा वार्षिक ५६ हजार चार सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ।