एमालेमा गुट बनाउने छुट कसैलाई छैन – अध्यक्ष ओली
२६ वैशाख रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् । ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ’ नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले भने ।‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ’ ओलीले भने ।
अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पारे । ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउनेछैन ।’ उनले भने । अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको जनाए ।
‘कपिलवस्तुले उल्लेख्य प्रगति गरेको छ, अवसर पनि पाएको, देशमै ८ मन्त्री हुँदा १ पाएको छ, राष्ट्रिय सभाको उपाध्यक्ष यहीबाट हुनुहुन्छ, प्रदेशमा पनि मन्त्री यहाँबाट हुनुहुन्छ,’ ओलीले भने ‘अहिलेको अधिवेशन सामान्य होइन । लुम्बिनीजस्तो ठाउँमा रहेको प्रदेशमा एमालेको एकल बहुमत नहुनु राम्रो होइन । अनेक थरी शिला खोज्नुपरेको छ सरकार बनाउन, अरुबेला सामान्य हुने पार्टी सरकार बनाउँदा तौल बढी हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउने गरी लाग्नुस्, ३ वटै तहमा स्पष्ट बहुमत ल्याउने मिसनमा जुट्नुहोस् ।’
उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गरे । ’एमालेको काँधमा लोकतन्त्रको प्रवर्द्धन गर्ने, सुशासन ल्याउनेसँगै विकास र समृद्धिको जिम्मेवार छ, यसका लागि एकल सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न आग्रह छ । राष्ट्रियताको रक्षाका लागि, पनि एमालेलाई बलियो बनाउनुपर्दछ । तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ ।, अहिलेको अवस्थामा त यति काम गरेका छौँ, बहुमत भए कति गर्थ्यौ होला ?’ ओलीले भने ।