आफुलाई कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जान्न – अध्यक्ष यादव


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१
3.8K
SHARES

२९ वैशाख काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारी दलहरूले फुटाएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले एमाले र माओवादी केन्द्रकाे नाम नलिई सो प्रतिक्रिया दिएका हुन् ।शनिबार जनकपुर पुगेका अध्यक्ष यादवले पत्रकारहरूसँगको कुराकानीमा दुई चार जना लोभी पापी पार्टी फुटाएर गएको बताए ।

उनले कुकुरले टोक्यो भने त्यही कुकुरलाई आफूहरू टोक्न नजाने टिप्पणी समेत गरे । जुन दलले तपाईंको पार्टी विभाजन गर्‍यो त्यही पार्टीले नेतृत्व गरेको सरकारमा सहभागी भइरहनुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले सो टिप्पणी गरेका थिए उनले भने, ‘कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जाँदिन ।’ अध्यक्ष यादवले पार्टी फुटाएर जानेहरू अन्तैबाट फुटेर आएका र स्वार्थ पुरा गरेर बाहिरिएको आरोप लगाए ।उनीहरू अरू थप स्वार्थ पुरा गर्न अन्तै गएको समेत उनले टिप्पणी गरे । उनले भने, ‘दुई चार जना लोभी पापी यताउति भए पनि मुक्तिको आन्दोलन रोकिँदैन ।’