देउवा र प्रचण्डबीच भेटवार्ता हुदै , यी हुन् एजेण्डा
३० वैशाख काठमाडौ । संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्दैछन्। छलफलका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरुलाई बिहान ९ बालुवाटार बोलाएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री दाहालले आजै सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध पारेको छ। संसदको हिउँदे अधिवेशनमै विरोध सुरु गरेको कांग्रेसले शुक्रबार सुरु भएको बर्खे अधिवेशनको पहिलो दिन नै दुवै सदन अवरुद्ध पारेको थियो।
हिजो बसेको कांग्रेसको कार्य सम्पादन समिति बैठकले संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने निर्णय गरेको थियो। कांग्रेस कडा रुपमा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले आज निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।