जति पटक विश्वासको मत लिनुपरे पनि पाउँछु – प्रधानमन्त्री
५ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीति कहालीलाग्दो नभए पनि उतारचढाव भइरहेको बताएका छन् । ‘जनयुद्धका चिठी’ र ‘कालिकोट स्मारिका’ विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारको ध्यान नीति तथा कार्यक्रम पारित गराएर बजेट ल्याउनेतर्फ केन्द्रित रहेको बताए ।
उनले भने, ‘अहिलेको परिस्थिति अलि कहालीलाग्दो हो कि भन्ने कुरा आउन खोज्यो । तर, मलाई त्यस्तो लागेको छैन । उतारचढाव त पक्कै छन् । अहिले सरकारको ध्यान नीति कार्यक्रमलाई पारित गर्नु र संविधानको व्यवस्था गर्न बजेटको तयारीमा छ । नीति तथा कार्यक्रममा आएको विषयलाई बजेटमा सम्बोधन गर्न मैले सानो टीम खटाएको छु । भोलिसम्म त्यसलाई टुंग्याउँछौं ।’प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको जानकारी गराउँदै पाउनेमा विश्वस्त रहेको बताए ।