गाँजाको उत्पादन खुला गर्नुपर्छ : अर्थमन्त्री पुन
२५ जेठ काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले औषधिको प्रयोजन र रिसर्चका लागि गाँजा खेती गर्न दिनुपर्ने बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले नियमावाली बनाएर भए पनि औषधीय प्रयोजनका लागि खुला गर्नुपर्ने बताएका हुन् ।गाँजाबाट उत्पादन हुने कर्चा पदार्थहरूबाट कागज तथा कपडा उत्पादन हुने भएकाले त्यसको पातबाट औषधि उत्पादन हुने र त्यसका लागि ऐन तथा नियमावली बनाएर अगाडि बढ्नुपर्ने अर्थमन्त्री पुनको भनाइ छ ।
गाउँघरमा अहिले पनि यसको अप्रत्यक्ष रूपमा खेती हुने गरेको भन्दै खेती गर्ने ठाउँमा भन्दा बाहिरका युवाहरूले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको उनले बताए । तर, यसलाई प्रतिबन्धभन्दा खुला गरेर खेती गर्न र प्रयोग कसरी गर्ने भन्ने मापदण्ड तोकिनुपर्ने उनको भनाइ छ ।
“गाउँघरमा अहिले पनि गाँजा उत्पादन भइरहेको छ । यसबाट उत्पादन हुने कच्चा पदार्थबाट धेरै उपयोगी सामान पनि बनेका छन्,” उनले भने, “यसको प्रयोगको विषयमा कानुनी व्यवस्था हुनुपर्छ । यसबाट धेरै कच्चा पदार्थ उत्पादन हुन्छ । प्रयोगको विषयमा भने सामाजिक चेतना र जागरण फैलाउनुपर्छ ।”