८९ हजार ग्राहकको खाता बन्द


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २७ २०८१
2K
SHARES

२७ जेठ काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द रहेको पाइएको छ । चालू आवको वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द भएको हो । खाता बन्द हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित भएका छन् । बन्द हुनेमा २०४७ सालयता बैंक तथा वित्तीय संंस्थाहरुमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्समा परेर पनि पैसा नतिर्ने ऋणीहरुको खाता छन्।

कर्जा सूचना केन्द्रका अनुसार जेठ २४ गतेसम्म ८९ हजार ग्राहक चेक बाउन्स र ऋण नतिरेका कारण ‘ब्लक’ हुनपुगेका छन्। यसमा चालू आर्थिक वर्षको वैशाखसम्म ४० हजार बैंकका ग्राहक थपिएको केन्द्रले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीहरु यसरी कालोसूचीमा पर्ने गरेका छन्।
ऋण नउठेपछि बैंकहरुले धितो लिलामी गर्नुअगाडि उनीहरुलाई कालोसूचीमा राखेर धितो असुल नगरुन्जेल वित्तीय सेवाबाटै वञ्चित गराउँछन्। केन्द्रका अनुसार ऋण तिर्न र बैंकले धितोबाट असुल समेत गर्न नसकेका ३९ प्रतिशत ऋणी छन् भने ६१ प्रतिशत चेक बाउन्समा परेकाहरु छन्।