बैंकिङ अत्यधिक तरलता : राष्ट्र बैंकले २ दिनमै खिच्यो ८५ अर्ब
२८ जेठ काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको छ । तरलतासँगै नेपाल राष्ट्र बैंकले २ दिनमै ८५ अर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलनको औजार प्रयोग गरी ७० अर्ब र स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरी थप १५ अर्ब रुपैयाँ तरलता प्रशोचन (मप–अप) गरेको हो । अत्यधिक तरलता रहेका बेला प्रशोचन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनको उपकरण प्रयोग गर्ने गर्छ । जेठ २५ को तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अहिले ६५ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ अधिक तरलता छ ।
राष्ट्र बैंकका अनुसार जेठ २४ गते ४० अर्बको र २५ गते ३० अर्बको निक्षेप बोलकबोलका माध्यमबाट संकलन गरिएको छ । दुवै निक्षेप १४ दिनका लागि हुन् । ४० अर्बको निक्षेपका लागि ४४ अर्ब १० करोडको कबोल परेको थियो भने ३० अर्बका निक्षेप जारी गर्ने बेलामा बैंकहरु ३८ अर्ब ९५ करोड रुपैयाँ राख्न तयार थिए ।यसरी बोलकबोलमा राखिने निक्षेपको ब्याजदर ३ प्रतिशतको हाराहारीमा हुने गर्दछ । २ दिनको अवधिमा बैंकहरु न्यूनतम २.९८ प्रतिशत र अधिकतम ३.१५ प्रतिशत ब्याजदरमा निक्षेप राख्न तयार थिए ।
४० अर्बको निक्षेपमा १४ बैंक वित्तीय संस्थाले ३७ वटा कबोल गरेका थिए भने ३० अर्बको निक्षेपमा १७ संस्थाले ५१ आवेदन दिएका थिए । केन्द्रीय बैंकले जेठ महिनामै २ खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन निक्षेप संकलनमार्फत् गरेको छ । आइतबारमात्र राष्ट्र बैंकले १४ अर्ब ७० करोड रुपैयाँ बराबरको एसडीएफ सुविधा उपलब्ध गराएको छ ।