तोकिएको समयभन्दा महिना दिनअघि नै दुई पुल निर्माण
४ असार खोटाङ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा महिना दिनअघि नै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र सोही नगरपालिकाको वडा नं ६ नेर्पास्थित मेवाखोलामा निर्माणाधीन मोटरेबल पुलको काम सम्पन्न भएको हो ।
विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्स प्रालिले सडक विभागसँग सम्झौता गरेको थियो । भ्याटबाहेक रु सात करोड ७४ लाख २५ हजारमा भर्खरै निर्माण सम्पन्न भएको दुवै मोटरेबल पक्की पुल २०–२० मिटर लम्बाइको छ ।
निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको ‘एप्रोच रोड’को कामसमेत सम्पन्न भएको पाइएको छ । तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताए ।
सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाइको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो ।