हसिनाले राजीनामा नै नदिएको ‘खुलासा’


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २६ २०८१
7.6K
SHARES

२६ साउन काठमाडौं । शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको ‘खुलासा’ भएको छ । उनका छोरा सजिब वाजेदका अनुसार प्रदर्शनले उग्ररूप लिएपछि हसिनाले राजीनामा दिने योजना बनाएकी थिइन् । तर, प्रदर्शनकारीहरू निवास नै घेराउ गर्न पुगेपछि उनले राजीनामा नै दिन नपाएको उनको दाबी छ । “मेरी आमाले औपचारिकरूपमा राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिने समय नै पाउनुभएन । उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ,” वाजेदले वासिङ्टनबाट रोयटर्ससँग शनिबार भनेका छन् ।

वाजेदका अनुसार हसिनाले एक वक्तव्य दिएर राजीनामा दिने योजना बनाएकी थिइन् । तर, आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा र्‍याली गर्न थालेपछि उनले समय नै पाइनन् ।”मेरी आमाले सामान प्याक गर्ने समय पनि पाउनुभएन । संविधानअनुसार उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हो ।”

राष्ट्रपतिले सेना प्रमुख र विपक्षी दलहरूसँगको परामर्शमा गरेको संसद् विघटन र प्रधानमन्त्रीले औपचारिकरूपमा राजीनामा नदिएर कामचलाउ सरकार गठन गरेकोविरुद्ध ‘अदालतमा चुनौती दिन सकिने’ उनको दाबी छ ।वाजेदले हसिना नेतृत्वको अवामी लिग पार्टीले आउने चुनाव लड्ने पनि बताए । उनका अनुसार चुनाव अबको तीन महिनाभित्रै सम्पन्न गरिसक्नुपर्छ ।

“म अवामी लिग सत्तामा आउनेमा विश्वस्त छु । यदि आएन भने पनि हामी प्रतिपक्ष हुनेछौँ,” उनले भनका छन् ।वाजेदले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की प्रमुख खालिदा जियाले कुनै प्रकारको बदला नलिने भनी दिएको अभिव्यक्तिबाट आफू खुसी भएको पनि बताए ।

बंगलादेशको हिंसात्मक प्रदर्शनपछि गएको सोमबार हसिनाले देश छाडेकी थिइन् । उनले हाल भारतको नयाँ दिल्लीमा आश्रय लिइरहेकी छन् । प्रदर्शनका क्रममा ३०० भन्दा धेरैको ज्यान गएको थियो । हसिना सत्ताको पतनपछि बंगलादेशमा हाल अन्तरिम सरकार गठन गरिएको छ ।