हसिनामाथि हत्याको मुद्दा
२९ साउन काठमाडौँ । प्रधानमन्त्रीका रूपमा १५ वर्ष देशको आर्थिक विकासको नेतृत्व गरेकी शेख हसिनामाथि मुद्दा लाग्ने क्रम सुरु भएको छ ।हसिनाको शासनकालमा भ्रष्टाचारदेखि विविध मुद्दामा जेल परेकाहरू धमाधम रिहा भइरहेका छन् भने हसिनासहितका नेताहरूमाथि भने मुद्दा चल्न थालेको हो । हसिनाविरुद्ध एक किराना पसलेको हत्याको आरोपमा मुद्दा दायर भएको हो ।
१९ जुलाईमा बंगलादेशको राजधानी ढाकाको मोहम्मदपुर इलाकामा प्रहरीले फायरिङ गर्दा किराना पसले मालिक अबु सइदको मृत्यु भएको थियो, जसमा हसिनासहित ६ जनालाई आरोपी बनाइएको हो ।अवामी लिगका महासचिव औबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जामां खान कमाल, पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल मामुन, डिटेक्टिभ ब्रान्चका पूर्वप्रमुख हारुनोर रसिदलगायतलाई यो मुद्दामा आरोपी बनाइएको छ ।
शेख हसिना र उनको पार्टीका नेतासँगै केही प्रहरी अधिकारीलाई समेत हत्या आरोपमा विपक्षी बनाइएको छ । हत्यासँग जोडिएको यो मुद्दा आरक्षणविरुद्ध बंगलादेशमा भएको आन्दोलनसँग सम्बन्धित हो ।
आन्दोलनकारीले विशाल जुलुस निकालेको स्थानमा प्रहरीले गोली चलाउँदा अबु सइदको मृत्यु भएको थियो । बंगलादेशमा आरक्षणविरुद्ध भएको आन्दोलनका क्रममा ५ सयभन्दा बढीको मृत्यु भएको छ ।
आरक्षणविरुद्ध सुरु भएको आन्दोलनमाथि दमन भएपछि आन्दोलन हसिनाको राजीनामामा केन्द्रित भएको थियो । आन्दोलन रक्तपातपूर्ण भएपछि शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । उनले देश छाडेपछि पनि आन्दोलन पूर्ण रूपमा रोकिएको छैन ।
हसिनाले देश छाडेपछि थप २३० जना मारिएसँगै मृतकको संख्या ५६० भन्दा बढी पुगेको छ । हसिनाले देश छाडेपछि आन्दोलनकारीले प्रहरीसँगै अवामी लिगका नेता कार्यकर्तालाई समेत निसाना बनाएका थिए ।