हेन्रीले फ्रान्सेली युवा टिमको प्रशिक्षण छोडे


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ४ २०८१
1.9K
SHARES

४ भदौ काठमाडौं । फ्रान्स यू–२१ टोलीका मुख्य प्रशिक्षक थिएरी हेन्रीले जिम्मेवारीबाट राजीनामा दिएका छन् । ४७ वर्षीय हेन्रीले सन् २०२३ मा दुई वर्षको सम्झौतासहित फ्रान्सेली युवा टिमको प्रशिक्षण जिम्मेवारी पाएका थिए ।उनको प्रशिक्षणमा फ्रान्सले घरेलु भूमिमा आयोजित पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको फाइनलसम्मको यात्रा तय गरेको थियो । ओलम्पिकको फाइनलमा फ्रान्स स्पेनसँग ५–३ ले पराजित भएको थियो ।

आर्सनल तथा बार्सिलोनाका पूर्वस्ट्राइकर हेन्री र फ्रान्सबीचको सम्झौता आउँदो वर्षसम्मको थियो । सम्झौताअनुसार, आउँदो वर्ष स्लोभाकियामा हुने यू–२१ युरोपियन च्याम्पियनसिपसम्म हेन्रीले जिम्मेवारी पाएका थिए । तर, उनले एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका हुन् ।

“ओलम्पिकमा देशका निम्ति रजतपदक जित्नु मेरा लागि सदैव सबैभन्दा ठूलो गौरवका रूपमा रहनेछ,” हेन्रीले भने, “म संघ, खेलाडी, स्टाफ र मलाई यो जादुमय अनुभव लिन अनुमति दिने समर्थकप्रति आभारी छु ।”