प्रचण्डद्वारा नेपालगन्ज रंगशालाको अवलोकन


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १६ २०८१
2K
SHARES

१६ भदौ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगन्ज रंगशालाको अवलोकन गरेका छन्। त्यसक्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालमा खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको बताए। हिजो मात्रै उनले सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको पनि अवलोकन गरेका थिए।

नेपालगन्ज रंगशालाको अवलोकनपछि अध्यक्ष प्रचण्डले भने, ‘पश्चिम नेपालमा खेलकुदका संरचनाको विकास हुँदै जानु खुशीको कुरा हो।’
माओवादी नेतृत्वको सरकार भएको बेलामा रंगशालाको निर्माणले गति लिएको दाबी पनि उनले गरे। ‘खासगरी हाम्राे पार्टीका नेता महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, प्रचण्डले भने,  ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्त्वको छ।’

यही वर्ष कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जमा खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै प्रचण्डले नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन आग्रह गरे।  प्रचण्डले खेलाडीहरुलाई  दसौँ राष्ट्रिय खेलकुदमा सफलताको शुभकामना दिए। खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उनको भनाई थियो।

सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीले प्रचण्डलाई स्वागत गरेका थिए। प्रचण्डसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतले रंगशालाको अवलोकन गरेका छन्।