फ्रान्सबाट इंग्ल्यान्ड जाने क्रममा डुंगा डुब्दा आठजनाको मृत्यु
३० भदौ काठमाडौं । समुद्रीमार्ग हुँदै फ्रान्सबाट इंग्ल्यान्ड जान खोज्दा आठजनाको मृत्यु भएको छ । स्थानीय समयानुसार गए राति १ बजे डुंगा बोलोन–सुर–मेरको उत्तरमा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो । फ्रान्सेली प्रहरीका अनुसार, उक्त रबरजहाजमा करिब ५० जना सवार थिए । किनारबाट निस्किएको केही समयपछि डुंगा डुबेको हो ।
फ्रान्सेली अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । दुई साताअघि यही क्षेत्रमा आप्रवासीले भरिएको डुंगा डुब्दा ६ बालबालिका र एक गर्भवती महिलासहित १२ जनाको मृत्यु भएको थियो ।