राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३० २०८१
2.5K
SHARES

३० भदौ काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् । तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् ।सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो । तर सर्वोच्च अदालतले समेत अनुमति दिएपछि उनले जेलबाटै दिल्लीको सरकार चलाए ।

सर्वोच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि भने केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।आफूमाथि चोर, भ्रष्टाचारी जस्ता आरोप लगाएको भन्दै उनले सत्ताबाट पैसा, पैसाबाट सत्ताको खेल खेल्न नआएको दाबी गरे । १४ वर्षपछि भगवान राम बनवासबाट फर्किदा सीताले अग्नि परीक्षा दिनुपरेको भन्दै केजरीवालले भने, ‘आज म जेलबाट आएको छु र अग्नि परीक्षा दिन तयार छु ।’

अबको केही महिनापछि दिल्ली विधानसभाको चुनाव हुनेछ । यदि केजरीवाल इमान्दार हो भन्ने लाग्छ भने आफ्नो पक्षमा भेट दिन उनले आग्रह गरे । आफू दोषी हो भन्ने लाग्छ भने मत नदिन आग्रह गर्दै उनले भने, ‘जबसम्म जनताले केजरीवाल इमान्दार छन् भनेर फैसला सुनाउने छैनन्, तबसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’