अमेरिकाको उपराष्ट्रपतिमा जेडी भान्स निर्वाचित
२३ कात्तिक काठमाडौं । दोस्रोपटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको विश्वभर जति चर्चा भइरहेको छ, त्यस्तै चर्चा उपराष्ट्रपति जे.डी. भान्सको पनि भइरहेको छ । किनभने उनी अमेरिकाको इतिहासमै तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहायोका सिनेटर हुन् । उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए । सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वास पात्रको रुपमा भान्स उपराष्ट्रपति चुनिएका छन् ।
अमेरिकामा सबैभन्दा कम उमेरको उपराष्ट्रपतिको रुपमा पहिलो नम्बरमा जोन सी ब्रेकिनरिजको नाम आउँछ । उनी ३६ वर्षको उमेरमै उपराष्ट्रपति बनेका थिए । उनको कार्यकाल १८५७ देखि १८६१ सम्म थियो ।