रुबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी
२७ कार्तिक वासिङटन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।नाम उल्लेख नगरीकन विभिन्न तीनजनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “आफ्नो उपराष्ट्रपति पदको उमेदवारका रूपमा चयन गरेका रुबियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उमेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ । यो निर्णय अन्तिम होइन ।”
जर्मनीका निम्ति पूर्वराजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपंक्तिको व्यक्तिका रूपमा गएको सातादेखि चर्चा गरिएको छ ।रुबियोले गएको साता सीएनएनसँग भनेका थिए, “म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु ।”क्युबाको विरासत बोकेका कट्टरपन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ ।
सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका निम्ति उमेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ‘हालसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए ।
मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए ।सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनको अति दक्षिणपन्थी दल टी पार्टीले उनको चुनावी अभियानलाई बढावा दिँदै रुबियो अमेरिकी सिनेटमा निर्वाचित भएका थिए ।