भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
2.5K
SHARES

२ मंसिर नयाँदिल्ली । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षामन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पुर्‍याउने भारतीय टोलीको उच्च प्रशंसा गरेका छन् ।

हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको नयाँ आविष्कार हो । तिनीहरू ब्यालिस्टिक मिसाइलभन्दा कम उड्छन् तर पत्ता लगाउन गाह्रो हुन्छ । हाइपरसोनिक्स मिसाइल लक्ष्यहरूमा छिटो पुग्न सक्दछन्, र मध्य–उडानमा लक्ष्य परिवर्तन गर्न आदेश दिन पनि सकिन्छ ।संयुक्त राज्य अमेरिका, रुस, चीन र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरिसकेका छन् ।भारतीय रक्षामन्त्री राजनाथ सिंहले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेर भारतले ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए स्टेल्थ फाइटर जेट’ र ‘अट्याक ड्रोन’ प्रदर्शन गरेर ‘एयर शोमा’ आफ्नो विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि यो परीक्षण उडान भएको हो । चीनका अनुसार यसमा ब्यालेस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ग्लाइड मिसाइललाई रोक्न बनाइएको ‘हेडक्वार्टर–१९’ सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीको सुरुवात पनि समावेश छ ।