नेपाल नेदरल्यान्ड्ससँग फेरि पराजित


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
2.6K
SHARES

२० माघ काठमाडौं । घरेलु मैदानमा जारी नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको हो ।

खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बलमा एक छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्काले २५ बलमा चार चौकासहित २३ रन थपिन् । यस्तै, पूजा महतोले १८ रन बनाउँदा कविता जोशीले १४ र सीता रानामगरले १० रन जोडे ।

नेपालकी रुविना क्षेत्री ‘गोल्डेन डक’ हुँदा विन्दु रावल पनि शून्यमै पभेलियन फर्किइन् ।नेदरल्यान्ड्सकी एरिस ज्विलिङ, हिथर साइगेर्स र क्यारोलिन डे लिंगेले समान दुई विकेट लिइन् । यस्तै, इभा लिंक र इसाबेल भान डेर वोनिङले एक–एक विकेट लिइन् ।त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।

डच टिमबाट कप्तान बाबेटे डे लिडेले सर्वाधिक ४१ रन बनाइन् । उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । यस्तै, हिथर साइगेर्सले २६ रन जोड्दा ओपनर फेबे मोल्केनबोर र रोविने रिकेले समान २१ रन थपिन् ।

नेपालकी सीता रानामगरले पाँच विकेट लिइन् । तीन ओभर बलिङ गरेकी सीताले १२ रनमात्रै खर्चिइन् । मनिषा उपाध्यायले दुई विकेट लिँदा कप्तान इन्दु वर्मा र कविता जोशीले समान एक विकेट हात पारे । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्ससँगै २० रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाललाई थाइल्यान्डले चार विकेटले हराएको थियो ।नेपालले अब मंगलबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।