६ वर्षपछि नेपाल र कीर्गिस्तान खेल्दै
५ फागुन काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरू हुने इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले कीर्गिस्तानसँग आफ्नो पहिलो खेल खेल्दैछ ।नेपाल र कीर्गिस्तान अन्तर्राष्ट्रिय महिला फुटबलमा ६ वर्षपछि खेल्न लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरू हुनेछ । त्यसअघि प्रतियोगितामा सहभागी अन्य दुई टिम म्यानमार र लेबनानबीच दिउँसो २ बजे पहिलो खेल हुनेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कीर्गिस्तानसँग ६ वर्षअघि खेले पनि अहिलेको टिम फरक रहेको बताए । ‘कीर्गिस्तानसँग ६ वर्षअघि खेल्दा हामीले ८-२ ले जितेको थियो । त्यसपछि खेलेको छैन’ तामाङले भने, ‘पछिल्लो पटक कीर्गिस्तानले भारतसँग ओलम्पिक छनोटमा खेलेको रहेछ । उनीहरूको अहिलेको फुटबल फरक छ । ६ वर्षमा राम्रो सुधार गरेको देखिन्छ ।’
प्रशिक्षक तामाङले कीर्गिस्तानविरूद्ध राम्रो योजना बनाएर खेल्ने र जितका लागि खेल्ने बताएका छन् । ‘उनीहरू बलियो बनेर आएको छ । योजना बनाएर खेल्नुपर्छ ।हाम्रो राम्रो स्ट्राइकरहरू छ । त्यसलाई राम्रोसँग खेल्नुपर्छ । कीर्गिस्तानको काउन्टर अट्याक राम्रो छ र बल पोसेसन पनि राम्रो छ त्यसमा हामीले ध्यान दिनुपर्छ । जित निकाल्छौं तर अलि कठिन हुन्छ’ उनले आइतबार प्रि-म्याच कन्फ्रेन्समा भनेका थिए ।