जनताका पीर मर्का बुझ्नमा केही चुक्यौं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०८१
1.9K
SHARES

१८ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् ।आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।‘हिजो केही त्रुटी गर्‍यौं । अलि पहिल्यै आउनुपर्‍थ्यो हामी-तपाईंहरुका पिर मर्का के छन भन्ने जनयुद्धको बेलामा जस्तै जनआन्दोलनको बेलामा जस्तै सुन्नु पर्ने थियो । त्यो कुरा सदनमा उठाउनुपर्थ्यो । सडकमा लैजानुपर्ने थियो । अलिकति त्यहाँ चुकेकै छौं’ उनले भने ।

विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा रहेको भन्दै उनले आगामी दिनमा नियमित रुपमा जनतासँग रहने बताए ।जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ पनि चाहिएको उनले बताए । सरकारमा रहेर काम गर्न खोज्दा खोज्दै संख्याका कारण सरकारमा रहन नसकेको पनि उनले बताए ।आफू नेतृत्वको सरकारले कर्णालीलाई, मधेशलाई र सुदुरपश्चिमलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएको उनले बताए ।

‘राम्रो गर्न खोज्दा खोज्दै यो देशका लाल पूँजीपतीहरू, नोकरशाहरू भन्छौं हामी ठूलो ठूलो नोकरी गरेर जनतालाई शोषण गर्नेहरू, बिचौलिया ठगहरू यी सबै मिलेर हामीले जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै हामीलाई सरकारबाट संख्याको कारणले हटाए’ प्रचण्डले भने ।आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको उनले बताए । ‘विशेष रुपले अनुरोध गर्न चाहन्छु– हामीलाइ संसदमा संख्या चाहियो । हामीलाई तपाईंहरुको मत चाहियो ।’

प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको पनि बताए ।मधेसी जनताको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।