‘वरिष्ठ बलराम’को मुहूर्तसँगै छायाङ्कन सुरु
१८ फागुन काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को शुभ–मुहूर्त गरिएको छ । आइतबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्मको छायाङ्कन समेत सुरु भएको निर्माण युनिटले जानकारी दियो ।लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज मिति तय भएको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको निर्मातामा आशिस एच तामाङ र श्रीराज कार्की रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्म महेश दवाडीले लेखेका हुन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाङ्कन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । फिल्मका डिओपी मानकृष्ण महर्जन रहेका छन् ।तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ । फिल्म काठमाडौँँ उपत्यकामा डीसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछ ।