श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल हुने
२८ फागुन काठमाडौं । साफ (पुरूष) च्याम्पियनसिप फुटबल श्रीलंकामा हुने भएको छ । मंगलबार काठमाडौंमा बसेको साफको कार्यसमिति बैठकले सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा गर्ने निर्णय गरेको हो ।श्रीलंकाले १७ वर्षपछि साफ च्याम्पियनसिप आयोजनाको अधिकार प्राप्त गरेको हो । साफ कार्यसमिति बैठकमा लागि काठमाडौ आइपुगेका श्रीलंका फुटबलका अध्यक्ष जसवर उमारले श्रीलंकाले आयोजना गर्ने पुष्टी गरेका हुन् ।
साफ च्याम्पियनसिप आगामी जुनमा हुनेछ । यसअघि होम अर अवे फर्म्याटमा साफ आयोजना गर्ने तयारी भइरहेपनि यस पटक सेन्ट्रलाइज्ड भेन्युमै साफ गर्न लागिएको हो ।श्रीलंका फुटबल फेडेरेसनको प्रस्थानमा साफका सदस्यहरु राष्ट्रहरुले यो निर्णय गरेको श्रीलंका फुटबले जनाएको छ । श्रीलंकाको लागि यो ऐतिहासिक क्षण रहेको फेडेरेसनले जनाएको छ ।
श्रीलंकाले यसअघि सन् २००८ मा माल्दिभ्ससँग मिलेर साफ च्याम्पियनसिप आयोजना गरेको थियो । पछिल्लो पटक साफ मेन्स च्याम्पियनसिप सन् २०२३ मा भारतको बेंगलुरुमा आयोजना भएको थियो ।
साफ च्याम्पियनसिपलाई दक्षिण एसियाको विश्वकपको रुपमा चिनिन्छ । भारतले सर्वाधिक ९ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ तथा बंगलादेश र श्रीलंकाले १-१ पटक उपाधि जितेका छन् । यस्तै सन् २००३ देखि २०१५ सम्म साफमा रहेर खेलेको अफगानिस्तानले पनि एक पटक उपाधि जितेको थियो ।नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०२१ मा माल्दिभ्समा भएको साफमा फाइनल पुग्नु नै नेपालको ठूलो सफलता हो । पाकिस्तान र भुटान फाइनलसम्म पनि पुग्न सकेको छैन ।