अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने
११ वैशाख काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने प्रयासको अन्तर्गत यो कदम चालिएको हो भन्ने स्रोतहरूले सीएनएनलाई जानकारी दिएका छन् ।
मंगलवारमा एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिएको थियो । यो सूचना सरकारी कार्यक्षमता विभाग (डोज) ले एमसीसीमा नियन्त्रण गर्न सुरु गरेको एक हप्तापछि मात्र आएको हो ।एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी (एक्टिङ्ग सीईओ) बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ ।
एमसीसी परियोजना नेपालमा पनि भर्खरै सञ्चालनमा आएको छ । नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ भन्ने बारेमा अझै आधिकारिक जानकारी गराइएको छैन । पोलिटिको अनलाइनले यसलाई ट्रम्प प्रशासन र डोज को अमेरिकाको विदेशी सहयोग कार्यक्रममाथि भएको नयाँ प्रहार बताएको छ । यसअघि यूएसएआईडी माथि प्रहार गरेको थियो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धि प्रवर्धन गर्न विदेशी सहयोग दिइरहेको थियो ।अमेरिकी विदेश मन्त्रालयबाट स्वतन्त्र रहेको एमसीसीसँग हाल २० वटा निम्न आय भएका देशहरूमा ५.४ अर्ब डलरको अनुदान मार्फत विभिन्न परियोजनाहरू कार्यान्वयन चरणमा थिए ।
अमेरिकी कांग्रेसले सन् २००४ मा जर्ज डब्ल्यू बुश प्रशासनको पालामा स्थापना भएको एमसीसीलाई विश्वकै सबैभन्दा पारदर्शी द्विपक्षीय एजेन्सीको रूपमा मूल्याङ्कन गरिएको पोलिटिको अनलाइनले जनाएको छ ।